site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विराटनगरमा श्रमाधान रोजगार मेला सुरु

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’ बिहीबार विराटनगरमा उद्घाटन गरेका छन् । दक्ष जनशक्तिलाई रोजगारी प्राप्त गर्न सहज बनाउने उद्देश्यले मेला आयोजना गरिएको जनाइको छ ।

मेला दुई दिनसम्म आयोजना गरिनेछ । जागिर पाउने उपयुक्त थलो बन्न सक्ने श्रमाधान रोजगार मेला सातै प्रदेशमा आयोजना गर्ने तयारी छ ।

मेलामा कोसी प्रदेशका ५० भन्दा धेरै उद्योगी, व्यवसायीले स्टल राखेका छन् । त्यहाँबाट रोजगारीका निम्ति आवेदन आह्वान गरिएको छ । उपयुक्त सीप, दक्षता र योग्यताअनुसारको जागिरका निम्ति त्यहीँ प्रस्ताव गर्न सकिने मेला संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । “यो अवसर र जनशक्ति खोजी गर्ने उपयुक्त थलो हो,” उनले भने ।

श्रम मन्त्रालयका उपसचिव एवं रोजगार मेला कोसी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले रोजगारीको खोजीमा लागेका युवाका लागि मेला धेरै नै फलदायी हुने बताए ।

श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिमप्रदायक संस्थाको उपस्थिति रहेको मेलामा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सामी कार्यक्रम, रेमी परियोजना, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटेल संघ नेपाललगायत संस्थाका स्टल राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्