site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रश्न– सिरोहिया नागरिकता किर्तेमा पक्राउ पर्दा प्रेस कहाँबाट जोडियो ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताएका छन् । 

बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नागरिकताको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने पनि बताए ।

"कैलाश सिरोहिया कान्तिपुर भन्ने पत्रिकाका सञ्चालक, उहाँलाई नागरिकताको विषयमा उहाँको नागरिकता झुटो नागरिकता भयो, किर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन, आदि भन्ने कुरा अखबारमा नै आए । तर, त्यसको छानबिन सरकारले गर्‍यो । अदालतलाई भन्यो, यस्तो यस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो," ओलीले भने ।

उनले थपे, "जोसुकैलाई थुन्न पाऊँ भन्दा अदालतले थुन्न दिँदैन नि । छानबिन गर भन्छ । अदालतले आदेश गरेपछि प्रहरीले समात्यो । यो प्रेस स्वतन्त्रतामाथिको हमला रे ! प्रेस कहाँबाट जोडियो ? नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो । यो खालका हल्लाका पछि लाग्दैन । डेमोक्रेसी खतरा भयो । वक्तव्यको होडबाजी भयो ।"

अध्यक्ष ओलीले सांसद सुनिल शर्मा र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रबैया देखाउनु अशोभनीय रहेको बताए । न्यायको अगाडि सबै बराबर रहेको ओलीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्