site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहितका स्थानमा आज दिनभर बदली र वर्षा : कहाँ कति पर्‍यो पानी ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहान वर्षा भएको छ । कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंसहित कतिपय स्थानमा आज दिनभर बदली (आकाशमा बादल) र वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् । “काठमाडौंमा आज दिनभर बदली हुन्छ । अहिले वर्षा भइरहेको छ, केही बेरपछि रोकिन्छ,” उनले बाह्रखरीसित भनिन्, “अपराह्न र रातितिर फेरि वर्षा हुने सम्भावना छ ।”

वर्षा निरन्तर नहुने, पर्ने र रोकिने हुने तर बदली दिनभर हुने उनले स्पष्ट पारिन् ।

Argakhachi Cement Island Ad

पछिल्लो तीन घण्टा (सोमबार बिहान ९ः२० बजे दिएको जानकारी)मा काठमाडौंको सुन्दरीजलमा ३४.४ मिलिमिटर वर्षा मापन गरिएको उनले बताइन् ।

यो अवधिमा काठमाडौंकै बूढानीलकण्ठमा ३३.८, इलाममा ३१.६, तेह्रथुममा ३१.४, नुवाकोटको ककनीमा २६.८ मिलिमिटर वर्षा भएको उनले जानकारी दिइन् । “स्वचालित वर्षा मापन केन्द्रको तथ्यांक हो यो,” उनले भनिन्, “अरू ठाउँको तुलनामा पछिल्लो तीन घण्टामा यी स्थानमा धेरै वर्षा भएको छ ।”

स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षा भएको उनले उल्लेख गरिन् । बिहान न्यूनचापीय प्रणालीले स्थानीय वायुलाई सक्रिय गराएको उनको भनाइ छ ।

मंगलबार (भोलि) पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । भोलि काठमाडौंमा अपराह्नतिर वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताइन् ।

efsdg-1716177925.jpg

जल तथा मौसम विज्ञान विभागको वेबसाइटबाट मंगलबार बिहान पौने १० बजे लिइएको स्क्रिन सट ।



 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्