site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नीति तथा कार्यक्रम खोरेत रोगबारे बोल्यो, लम्पी स्किन महामारीमा मौन

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गत वर्ष किसानलाई संकटमा पुर्‍याएको लम्पी स्किन रोगबारे मौन देखिएको छ ।

दुई वर्षभित्र खोरेत रोग उन्मुलन गर्ने नारा दिएको नीति तथा कार्यक्रममा लम्पी स्किनका पीडित किसानलाई राहतको घोषणा हुन सकेन ।

“दुई वर्षभित्र खोरेत रोग उन्मुलन गरिने छ,” नीति तथा कार्यक्रममा भनिएको छ, “पशुजन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा वितरणको व्यवस्था मिलाइनेछ ।”

नीति तथा कार्यक्रममा निजी क्षेत्र समेतको सहकार्यमा स्थानीय तहमा क्रमश: पशु अस्पताल निर्माण गरिने उल्लेख छ । 

कृषि उपजको बजार सहज बनाउन निजी सहकारी मोडेलमा भण्डारण क्षमता विस्तार गरिने, प्रत्येक प्रदेशमा एक हजार पशुपन्छी पालन गरी स्रोत केन्दका रूपमा अघि बढाउने, हिमली क्षेत्रमा फलफूल र जडीबुटी उत्पादन गर्ने ठूला फर्म सञ्चालन गरिने, निजी क्षेत्र समेतको संलग्नतामा कृषि बजार निर्माण र सञ्चालन गरिनेसहितका योजना नीति थता कार्यक्रममा छन् ।

यस्तै, आयातित खाद्यान्न तथा तरकारीमा विषादी परीक्षणको दायरा विस्तार गरिने उल्लेख छ । स्वस्थ तरकारी तथा फलफूल ओसारपसारका लागि नियमाक निकायको क्षमता बढाइने र कृषि उपजको परीक्षण गरिने प्रयोगशाला अन्तर्राष्ट्रियस्तरको बनाइने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै, कृषि बजार बजार सूचना प्रणाली विकास गर्ने, चिस्यान कक्षसहितका कृषि तथा तरकारी थोकबजार सञ्चालनमा ल्याइने  र कृषि अनुसन्धानका कार्यहरू किसानका आवश्यकता अनुरूप अघि बढाइने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्