site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरी, बारामा धेरै भारी वर्षा : यी हुन् ‘बढी’ पानी परेका स्थान
फाइल तस्बिर ।

काठमाडौं । गए रातियता देशका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । थोरै स्थानमा धेरै भारी वर्षा समेत मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टा (दिउँसो १२ः५० बजे दिएको जानकारी)मा सप्तरी र बारामा धेरै भारी वर्षा मापन गरिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

“पछिल्लो १२ घण्टामा सप्तरी र बारामा धेरै भारी वर्षा समेत भएको छ,” उनले बाह्रखरीसित भने, “ती स्थानमा १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । १२ घण्टामा १०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी भन्न सकिन्छ ।”

Argakhachi Cement Island Ad

यो अवधिमा मोरङ, सुर्खेत, ओखलढुंगालगायत स्थानमा भारी वर्षा मापन गरिएको उनले जानकारी दिए । उनका अनुसार, मोरङको लेटाङमा ५८ मिलिमिटर, सुर्खेतमा पनि ५८, ओखलढुंगामा ६६, नवलपुरमा ९६, तिलोत्तमामा ५५, पाल्पामा ८७ मिलिमिटर वर्षा मापन गरिएको छ । यी स्थानमा भारी वर्षा भएको हो ।

अहिले काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दाङ, कास्कीसहित देशका अरू केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए ।

आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । भोलि र पर्सि (सोमबार र मंगलबार) पनि वर्षाको सम्भावना रहेको उनले बताए ।

“भोलि र पर्सि पनि वर्षाको सम्भावना छ । तर, आजको जस्तो हुने देखिँदैन । आजभन्दा भोलि र पर्सि केही कम वर्षा हुने सम्भावना छ,” उनले भने । सोमबार र मंगलबार आजको तुलनामा वर्षाको मात्रा कम र क्षेत्र पनि घट्ने उनको भनाइ छ ।

सोमबार र मंगलबार काठमाडौंमा पनि वर्षा हुने उनले स्पष्ट पारे । अहिले हेर्दा त्यसपछि भने वर्षाको सम्भावना कम देखिएको उनले बताए ।

हाल देशको मौसममा स्थानीय र पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव परेको उनले जानकारी दिए । यही कारण गएको आइतबारयता देशका धेरै स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्