site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विभाजित जसपाको संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बस्ने तयारी भएको छ । पार्टी अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएकाले दलको बैठक बस्न लागेको हो । 

मंगलबार दलको बैठक बस्ने भनिए पनि समय टुंगो लागिनसकेको सो पार्टीका सांसद प्रकाश अधिकारीले जानकारी दिए । “संसदीय दलको बैठक आज बस्छ । कतिबेला भन्ने टुंगो भइसकेको छैन,” उनले भने । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर अमेरिकाबाट यादव स्वदेश फर्किसकेका छन् । 

उनी विदेशमा रहँदा जसपा नेपालबाट अलग भई अशोक राईसहितका नेताले नयाँ दल दर्ता गराएका छन् । पार्टी विभाजनसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न मंगलबार केन्द्रीय कार्यालय बालकुमारीमा जसपा नेपालको संसदीय दलको बैठक बस्न लागेको हो । 

सोमबार अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलले प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले जसपा नेपालबाट विभाजत भई बनेको जनता समाजवादी पार्टीलाई दर्ताको प्रमाणपत्र दिएको हो । राईले प्रतिनिधिसभाका सात सांसदसहित आइतबार दल दर्ताको निम्ति आयोगमा निवेदन दिएका थिए । 

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका १२ प्रतिनिधिसभा सदस्यमध्ये सात सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरेका थिए । निवेदन दिइएको २४ घण्टा नबित्दै आयोगले दल दर्ता गर्दै प्रमाणपत्र दिएको हो । 

नयाँ गठित पार्टीमा राजेन्द्र श्रेष्ठ संघीय परिषद्का अध्यक्ष छन् । अशोक राई अध्यक्ष, रेणुकुमारी यादव सहअध्यक्ष र मोहमद इस्तियाक राई महासचिव रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्