site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधानअनुसार चल्छु र मेरै नेतृत्वमा सर्वदलीय सरकार बनाऔं : मुख्यमन्त्री कार्की  

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू पार्टीको लेटरप्याड र झण्डामा मुख्यमन्त्री नबनेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा  संकल्प प्रस्तावमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले आफूले ‘रिस्क’ लिएकै कारण कोसी प्रदेशमा संवैधानिक संकट टरेको दाबी गरे ।

संविधानको धाराअनुसार सरकार चल्ने र आफू त्यसभन्दा पर नजाने कार्कीले बताए । मुख्यमन्त्री कार्कीले भने, “म मुख्यमन्त्री बन्दा मेरो पार्टीको बहुमत फरक थियो । एक तिहाइले मात्र सही गरेको हो । एकबाट ८ र ८ बाट ४७ अनि त्यो बढेर ८६ भएको हो । मलाई मुख्यमन्त्री बनाउँदा र समर्थन दिँदा बहुमत खोजिएन । सिंगो १६८ को उपधारा ५ को व्याख्या गरियो । राजीनिक स्थिरताको लागि प्रदेशको संरचना बढाउन सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔं ।” 

कार्कीले आफ्नो सिफारिस सोहीअनुरुप भएको, नियुक्ति र विश्वासको मत लिएको बताए । आफूलाई मध्यावधि रोक्नकै निम्ति मुख्यमन्त्री प्रस्ताव गरिएको र त्यही विषयमा अहिले सदनमा छलफल गर्नु उपयुक्त नभएको जिकिर गरे । 

“संकल्प प्रस्तावलाई संविधानले देख्छ कि देख्दैन, के गर्छ ? म टिप्पणी गर्दिनँ,” उनले भने, “मलाई संविधानको धारामा नुहाउन नै ठिक छ । संविधानको धाराको प्रयोग गरौं । मेरै नेतृत्वमा सर्वदलीय सरकार बनाएर अघि बढौं ।” 

संविधानसम्मत हुने हरेक बुँदाको सम्मान गर्ने उनले बताए । “सदनमा कहिले यता र कहिले उता गर्दा थाकियो । दुई चारदिनमै जानुपर्ने हो कि भन्ने माननीयहरूलाई पनि छ । दुईपटक बहुमतको सरकारको प्रक्रिया पुगेन भनेर तेस्रोपटक अल्पमतको सरकार र त्यसपछि उपधारा ५ बमोजिम सरकार गठन भयो,” कार्कीले भने ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्