site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिममा कांग्रेसले नेकपा एसलाई सहयोग गर्ने, वैकल्पिक गठबन्धनमा देउवा–नेपाल छलफल

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन समर्थन दिने भएको छ । 

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको भेटमा देउवाले सहमति जनाउने आश्वासन दिएको स्रोतले जानकारी दिएको छ । 

नेकपा एसका अध्यक्ष नेपालले बाध्यात्मक रुपमा वर्तमान सत्ता गठबन्धनमा बस्नुपरेको भन्दै गठबन्धनमा सामेल भए पनि नेकपा एसलाई बेवास्ता गरिएको गुनासो गरेका थिए । उनले ओली र प्रचण्डले एकलौटी गर्ने तर गठबन्धनमा साक्षी बस्ने कुरा आफूहरुलाई स्वीकार्य नभएकाले कांग्रेससँगकै सहकार्य अघि बढाउने प्रस्ताव गरेका थिए । 

उक्त प्रस्तावमा देउवाले केही सर्त राखेर सुदूरपश्चिममा नेकपा एसको सरकार बनाउने सहमति दिएको स्रोतले जानकारी दिएको छ । 

“दुई नेताबीच अहिले सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने, त्यसपछि गण्डकी, वाग्मती, मधेस र लुम्बिनीको सरकार क्रमशः परिवर्तन गर्दै जाने सहमति भएको छ,” स्रोतले भन्यो, “त्यसको परिणाम संघमा पनि देखिने विश्वास उहाँहरुबीच कायम भएको छ ।” 

देउवा र नेपालबीच बुधबार बेलुका यस्तो सहमति भएको स्रोतको दाबी छ । उनीहरुबीच कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको निवासमा कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्