site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
फाइल तस्बिर ।

जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिँदै छन् । 

मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जानकारी दिए । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । 

उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथोपटक लिन लागेको विश्वासको मत हो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । 

जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा  एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ । १०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्