site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त नगर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त नगर्न भन्दै नेपाली कांग्रेसले गण्डकी प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ । कार्यवाहक मुख्यमन्त्री समेत रहेका कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टको ध्यानाकर्षण गराएको हो ।

आइतबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर टोलीले चारबुँदे असहमतिपत्र बुझाएको छ । गण्डकीमा सभामुखलाई समेत गणना गरेर आइतबारै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र दीपक मनाङे (राजीव गुरुङ)ले खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।

“नेपालको संविधानको धारा १८२ ले सभामुख सरकार गठनको जोडघटाउबाट अलग रहेको तटस्थ पद हो भनी व्यवस्था गरेकै छ,” असहमतिपत्रको दोस्रो बुँदामा उल्लेख छ ।

पाण्डेद्वारा हस्ताक्षरित असहमतिपत्रको तेस्रो बुँदामा उल्लेख छ, “म आफूलाई जानकारी हुन आएअनुसार प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षर भनिएको उक्त दाबीपत्रमा दलको नेताले हस्ताक्षर गरेको भन्ने बुझिएको छ । प्रदेशसभाका प्रत्येक संदस्यहरूको फरक प्रयोजनका लागि लिइएको पुरानो हस्ताक्षर दुरुपयोग गरिएको भनी स्वयम् केही प्रदेशसभा सदस्यहरूले भनेको अवस्था छ । समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक सनाखतबेगर मुख्यमन्त्रीको नियुक्ति आधिकारीक मान्न सकिँदैन र म निवेदक सनाखतपछि मात्रै कामकारबाही अघि बढाइयोस् भन्ने माग गर्दछु ।”

कोसी प्रदेशमा यसअघि सभामुखलाई समेत गणना गरेर बहुमत पुर्‍याउँदा सर्वोच्च अदालतले बदर गरेको घटना प्रसंग समेत पत्रमा उल्लेख छ ।

g1-1712474548.jpgg2-1712474561.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्