site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नापहरूको कुनै नाप हुँदैन

 जो कसैको आफन्त होइन
त्यही सबैको आफन्त हो
जसको पुग्ने कुनै ठाउँ छैन
त्यही सबैको गन्तव्य हो
जिउने सबैको उमेर हुन्छ 
उमेर हुने अमर हुँदैन
के ठेगाना बताइरहनु
ठेगानको आफ्नो ठेकान हुँदैन

यही चेतनाले मेरो, मलाई बिर्साउँछ
फुल्दाको रोमाञ्चलाई ओइलिने पीरले पिरोल्छ
जति उडे पनि के भो, जति बगे पनि के भो
नापहरूको कुनै नाप हुँदैन

तिमीसम्म पुग्ने कुरा 
हाम्रो दूरीको नाप मात्रै हो
तिमीलाई भेट्टाउने कुरा 
तिमी हराउँदाको अनुभूति मात्रै हो
जोडिएका नाताहरू टुटफुटका संघारहरू हुन् 
सार्वभौम स्वभाव नभए पुगिने सबै अनित्य हुन्

बदल्न जो मिल्दैन, त्यही तिमी हौ
टिकाइरहन जो पर्दैन, त्यही तिमी हौ
जे हुन नसकेको हो, त्यही तिमी हौ
जे हुन नपरेको हो, त्यही तिमी हौ ।
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०६:१०
प्रतिक्रिया दिनुहोस्