site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचनका निम्ति सरकारले दियो १० करोड

काठमाडौं । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका निम्ति सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए ।

“मापदण्डअनुसार हामीले आयोगलाई १० करोड रुपैयाँ विनियोजन गरेका छौँ,” उनले भने, “मापदण्डभन्दा बढी अथवा घटी भयो भने त्यहीअनुसार खर्चको व्यवस्थापन हुन्छ ।”

सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट नछुट्ट्याएको प्रवक्ता शर्माले बताए ।

वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा उपनिर्वाचन हुँदै छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो ।

यस्तै, सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्युपछि बुझाङ–१ ‘क’को प्रदेशसभा पद रिक्त छ ।

उपनिर्वाचनका निम्ति प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ दल दर्ता गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्