site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालका कारागारमा २८ हजार २२९ कैदीबन्दी : १,४०० विदेशी, कुन देशका कति ?

काठमाडौं । नेपालका कारागारमा कुल २८ हजार २२९ जना कैदीबन्दी छन् । यसमा बालसुधार गृहमा राखिएका बालबालिकालाई समावेश गरिएको छैन ।

गृह मन्त्रालयको कारागार व्यवस्थापन विभागका अनुसार, देशका ७४ स्थानमा रहेका कारागारमा ती कैदीबन्दीलाई राखिएको छ ।

“हाल पाँचवटा जिल्लामा कारागार छैन, ७२ जिल्लामा कारागार सञ्चालनमा छन्,” कारागार व्यवस्थापन विभागका प्रवक्ता तथा निर्देशक कमलप्रसाद पाण्डेले बाह्रखरीसँग भने ।

Argakhachi Cement Island Ad

गएको माघ मसान्तसम्म कारागारमा रहेका कैदीबन्दीमा २६ हजार ६३१ जना पुरुष र एक हजार ५९८ जना महिला छन् । कारागारमा ६५ वर्ष माथिका कैदीबन्दीको संख्या ५३१ छ । असीजना आश्रित बालबालिका रहेको विभागले जनाएको छ ।

विभागका प्रवक्ता पाण्डेका अनुसार, नेपालका कारागारमा १६ हजार ७७४ जना कैदी छन् । यसमा पुरुषको संख्या १५ हजार ८९० र महिलाको संख्या ८८४ छ । 

गएको माघ मसान्तसम्म कारागारमा ११ हजार ४५५ जना बन्दी (थुनुवा) रहेको विभागले बताएको छ । कुल बन्दीमध्ये १० हजार ७४१ जना पुरुष छन् भने ७१४ जना महिला ।

नेपालका कारागारमध्ये सबैभन्दा ठूलो संख्यामा कैदीबन्दी काठमाडौंको जगन्नाथदेवलस्थित कारागारमा राखिएको छ । जगन्नाथदेवलको कारागारमा तीन हजार ४७४ कैदीबन्दी रहेको विभागको विवरणमा उल्लेख छ ।

जगन्नाथदेवलपछि सबैभन्दा ठूलो संख्यामा कैदीबन्दी क्रमश: झापा कारागारमा एक हजार ६११, सुनसरीको झुक्कास्थित कारागारमा एक हजार ५७८, ललितपुरको नख्खु कारागारमा एक हजार ५३३, पर्सा कारागारमा एक हजार ४६२, मकवानपुरको भीमफेदीस्थित कारागारमा एक हजार ६५ र मोरङ कारागारमा एक हजार २८ जना कैदीबन्दी रहेका छन् । 

नेपालका सातवटा कारागार प्रत्येकमा एक हजारभन्दा बढी कैदीबन्दी राखिएको विभागको तथ्यांकले देखाउँछ । 

विभागका अनुसार बाँके कारागारमा ९१६, कास्की कारागारमा ७७२, चितवन कारागारमा ७५६, सिन्धुली कारागारमा ७१२, कैलाली कारागारमा ७१२ र काठमाडौंको डिल्लीबजार कारागारमा ६९८ जना कैदीबन्दी छन् । 

नेपालमा हाल कोसी प्रदेशमा १४, मधेस प्रदेशमा १९, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिम प्रदेशमा ९ वटा कारागार छन् ।

विदेशी कैदीबन्दी

कारागार व्यवस्थापन विभागका अनुसार नेपालका विभिन्न कारागारमा २०८० माघ मसान्तसम्म एक हजार ४०५ जना विदेशी कैदीबन्दी छन् । नेपालका कारगारमा रहेका कुल कैदीबन्दीमध्ये ४.९७ प्रतिशत विदेशी नागरिक रहेको विभागको तथ्यांकले देखाउँछ ।

नेपालका कारागारमा भारत, भुटान, बोलिभिया, बर्मा, चीन, जाम्बिया, पाकिस्तान, क्यानडा, सर्विया, अमेरिका, जर्मनी र चेक रिपब्लिक गरी १२ देशका कैदीबन्दी छन् ।

विभागका तथ्यांकले नेपालका कारागारमा रहेको विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । नेपालका विभिन्न कारागारमा एक हजार ३३३ जना भारतीय नागरिक कैदीबन्दी छन् । अर्थात् नेपालका कारागारमा रहेका कुल विदेशी कैन्दीबन्दीमा ९४.८७ प्रतिशत भारतीय छन् । 

“कर्तव्य ज्यान मुद्दा, लुटपाट, ठगी, लागुऔषध कारोबार लगायतका मुद्दामा आरोपित र ठोषी ठहर भएका ठूलो संख्यामा भारतीय नेपालका कारागारमा छन्,” विभागका प्रवक्ता पाण्डेले भने ।

भारतीयपछि नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमा ठूलो संख्या भुटानीको छ । ४९ जना भुटानी नागरिक कैदीबन्दीको रूपमा नेपालका कारागारमा छन् । 

नेपालमा रहेका अन्य विदेशी कैदीबन्दीमा १२ जना चिनियाँ, एक जना बोलिभियन, एक जन म्यानमारी, एक जना जाम्बियन, दुई जना पाकिस्तानी, दुई जना क्यानेडेली, एक जना सर्वियन, एक जना अमेरिकी, एक जना जर्मन र एक जना चेक रिपब्लिकन छन् ।

बालसुधार गृहमा १,२०० बढी

नेपालका ९ वटा बाल सुधार गृहमा हाल एक हजार २१८ जना बालबालिका छन् । कारागार व्यवस्थापन विभागका अनुसार कैदी बालबालिकाको संख्या ६६० रहेको छ भने बन्दी बालबालिकाको संख्या ५५८ छ । 

कैदी बालबालिकामा ६४३ जना बाल र १७ जना बालिका छन् । बन्दी बालबालिकामा ५३५ जना बालक र २३ जना बालिका छन् ।

बालसुधार गृह भक्तपुरमा २३९, बालसुधार गृह मोरङमा २१६, बालसुधार गृह कास्कीमा ९४, बालसुधार गृह बाँके जयडमा २२५, बालसुधार गृह मकवानपुरमा ७२, बालसुधार गृह डोटीमा ५४, बालसुधार गृह पर्सामा ११७, बालसुधार गृह रूपन्देहीमा ८९ र बालसुधार गृह बाँके नौवस्ता ११२ जना बालबालिका छन् ।

नेपालमा कारागार

नेपालमा कारागारको इतिहास विसं १९७१ सालबाट सुरु भएको हो । नेपालको पहिलो कारागार ‘सदरजेल’ (काठमाडौंको जगन्नाथदेवल) हो । 

२०१९ सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन, २०१९ निर्माण गरिएको थियो । कारागार ऐन, २०१९ खारेज भई हाल कारागार ऐन, २०७९ लागु भएको  छ ।

विभागका प्रवक्ता पाण्डेका अनुसार, नेपालको ७७ जिल्लामध्ये धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुम गरी पाँ जिल्लामा कारागार छैनन् । हाल नेपालको ७२ जिल्लामा जिल्लामा ७४ वटा कारागार कार्यालयहरू छन् । 

काठमाडौं र दाङ दुई जिल्लामा दुई/दुई वटा कारागार छन् । दाङको घोराही र तुल्सीपुर तथा काठमाडौंको जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) मा कारागार छन् ।

कारागारमा कैद भुक्तान गरी रहेका कैदीबन्दीहरूको उपचारका लागि काठमाडौंमा केन्द्रीय कारागार अस्पताल र ललितपुरमा मनोसामाजिक अपांग बन्दी अस्पताल  सञ्चालन भइरहेको विभागले जनाएको छ ।

बाँकेको गनापुरमा खुला कारागारको निर्माण कार्य भइरहेको छ भने बाँकेकै नौबस्तामा क्षेत्रीय कारागार निर्माण कार्य भइरहेको छ ।

नेपालमा कैदीबन्दीको संख्या बढ्दो

कारागार व्यवस्थापन विभागको तथ्यांकले नेपालमा प्रत्येक वर्ष कैदीबन्दीको संख्या बढ्दै गएको देखाउँछ । 

विभागका अनुसार, २०६६ असार मसान्तमा नेपालका रहेका कारागारमा कुल कैदैबन्दीको संख्या ११ हजार ५०० थियो । २०६८ असार मसान्तमा आइपुग्दा यो संख्या बढेर १३ हजार ६८ पुगेको थियो । 

२०७३ असार मसान्तमा नेपालका १७ हजार ५३९ जना कैदीबन्दी थिए । २०७४ असार मसान्तमा यो संख्या १७ हजार ८५३ र २०७५ असार मसान्तमा १९ हजार ३६० पुगेको विभागको तथ्यांकले देखाउँछ ।

नेपालका कारागारमा कैदीबन्दीको सख्या २०७६ असार मसान्तमा २२ हजार ४१८ जना, २०७७ असार मासन्तमा २३ हजार ८०२ जना, २०७८ असार मासन्तमा २४ हजार ३९० जना, २०७९ असार मसान्तमा २६ हजार २४० जना र २०८० असार मसान्तमा २७ हजार ४९३ जना रहेको देखिन्छ ।

पछिल्लो १४ वर्षमा नेपालमा कैदीबन्दीको संख्या दुईगुणाभन्दा बढीले बढेको देखिन्छ । 

नेपालमा विदेशी कैदीबन्दीको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाउँछ । २०७३ असार मसान्तमा नेपालका विदेशी कैदीबन्दीको संख्या ९६९ थियो । २०७४ असार मसान्तमा यो संख्या बढेर एक हजार ५ पुगेको थियो । 

विभागको तथ्यांक अनुसार, नेपालमा विदेशी कैदीबन्दीको संख्या २०७५ असार मसान्तमा एक हजार ८५ जना, २०७६ असार मसान्तमा ११ सय ७२ जना, २०७७ असार मसान्तमा १२ हजार ८७ जना, २०७८ असार मसान्तमा १२ सय ६४ जना, २०७९ असार मसान्तमा १३ सय ५८ जना र २०८० मसान्तमा १३ सय ८१ जना थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्