-1718627857.jpg)
काठमाडौं । केही दिनदेखि सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।
मनसुन भित्रिने समय नजिँदै गर्दा पानी पर्नेक्रम पनि बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रहरूमा रहेको छ ।
माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुनअगाडि बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारत मौसम विज्ञान विभागका अनुसार अबको दुई दिनमा मनसुन केरला आइपुग्नेछ । यसका लागि अनुकूल वातावरण बनिरहेको भारत मौसम विज्ञान विभागले बताएको छ ।
केरलामा रहेको मनसुन नेपाल आइपुग्ने सरदर समय १० देखि १४ दिन हो । नेपालमा केरला, सिक्किम हुँदै पूर्वी नेपालबाट मनसुन भित्रिन्छ ।
“यो औसत समय हो । योभन्दा धेरै वा थोरै समयमा पनि मनसुन आउन सक्छ,” मौसमविद् विनु महर्जन बाह्रखरीसँग भन्छिन्, “कहिलेकाहीँ कुनै एक ठाउँबाट अर्को ठाउँमा छिटो गएर कुनै स्थानमा पुगेर लामो समयसम्म रोकिएर मनसुन अगाडि बढ्दैन ।”
त्यसैले यही मितिमा मनसुन नेपाल भित्रिन्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।
नेपालमा मनससुन भित्रिने औसत मिति जुन १३ हो । तर, योभन्दा अगाडि वा पछाडि पनि मनसुन भित्रिन सक्छ । यो वर्ष मनसुन औसत समयभन्दा ढिलो भने भित्रिने सम्भावना कमै रहेको उनको भनाइ छ ।