site stats
बाह्रखरी :: Baahrakhari
देश
कहाँको तापक्रम कति ?

काठमाडौं । वर्षा र हिमपातसँगै देशका धेरै स्थानको तापक्रम घटेको छ । बिहीबारको तुलनामा शुक्रबारको तापक्रममा उल्लेख्य कमी आएको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार, बिहीबार सोही समयमा काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस थियो ।

महाशाखाले सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये यस दिन जुम्लाको तापक्रम सबैभन्दा कम –३.३ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार बिहान पौने ९ बजे जुम्लाको तापक्रम –२.० डिग्री सेल्सियस थियो ।

आज डडेलधुराको न्यूनतम तापक्रम ०.२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार बिहान पौने ९ बजे डडेलधुराको तापक्रम २.० डिग्री सेल्सियस थियो ।

यस्तै, शुक्रबार ताप्लेजुङको न्यूनतम तापक्रम ३.६, वीरेन्द्रनगर र ओखलढुंगाको समान ५.०, दिपायलको ६.८, धनकुटाको ७.५, धनगढी र पोखराको समान ८.० डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार ताप्लेजुङको न्यूनतम तापक्रम ६.५, वीरेन्द्रनगरको ८.०, ओखलढुंगाको ९.६, दिपायलको ७.४, धनकुटाको ११.०, धनगढीको १२.०, पोखराको ९.३ डिग्री सेल्सियस थियो । 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ७.८ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जानकारी गराएको छ ।

गएको माघ १४ गते काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यो नै काठमाडौंमा यो वर्षका निम्ति अहिलेसम्म कम तापक्रम भएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

qwefg-1708661319.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्