site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । 

सोमबार नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरूसम्मका सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताए । उनले महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । 

उनले क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरू व्यापारीजस्ता व्यापारीहरू नेताजस्ता देखिएको बताए । महासमिति बैठक क्रोनी क्यापिटालिजमका विरुद्धमा एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो । 

उनले भने, "जनतालाई छुने गरेर यो महासमिति बैठक सम्पन्न हुनैपर्छ । त्यसकारणले कांग्रेसको तर्फबाट वडा अध्यक्ष भएदेखि मजस्ता मन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्छ भन्ने प्रस्ताव यो महासमितिले पारित गर्न म निवेदन गर्न चाहन्छु । यति गरेमा आगामी दिनमा पहिलो पार्टी मात्र होइन बहुमतको पार्टी फेरि तीनै तहमा अगाडि बढ्नेछौँ ।"

उपसभापति गुरुङले पार्टीको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्