site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँ जीप दुर्घटना : मृतकको पहिचान खुल्यो
तस्बिर : कृष्ण न्यौपाने/रासस ।

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६, छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९, गजौडेका १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

Argakhachi Cement Island Ad

बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल जीप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६, प्युघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, ६ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका–३, सुखौराका १० वर्षीय शिशिर गुरुङ घाइते भएका प्रहरीले जनाएको छ । आँबुखैरेनी अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

यसैगरी, आँबुखैरेनी–६, छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँटका ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी–१, गिरौनचौरका जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी–६, छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ र ३७ वर्षीया सुनीता गुरुङ घाइते भएका छन् । चितवनस्थित नयाँ मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्