site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा रिसोर्ट चलाउँथिन् ललितपुरमा मृत फेला जर्मन महिला

काठमाडौं । ललितपुरको नागबहालमा एक जर्मन नागरिक सोमबार मृत फेला परेकी छन् । ५७ वर्षीया जर्मन नागरिक एडिइलएचइडी मृत फेला परेकी हुन् ।

नागबहालस्थित ग्रीन तारा हेरिटेज होम एन्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनी दुई वर्षदेखि सो अपार्टमेन्टको दोस्रो तलामा बस्दै आएको खुलेको छ । उनको टाउकामा चोट देखिएको छ ।

टाउकामा चोट देखिएपछि अनुसन्धानका निम्ति प्रहरीले ‘फरेन्सिक’ टोलीलाई समेत घटनास्थलमा बोलाएको छ । शव अझै उठाइएको छैन । घटनास्थल ‘सिल’ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार, उनी बस्ने कोठा (फ्ल्याट)को ढोकाको चुकुल लगाइएको थिएन । कोठाभित्र पानी जमेको थियो । किचेनको धारा खुल्लै थियो । सफाइकर्मी आएर कोठाभित्र उनको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

पछिल्लोपटक उनी नेपाल आएको करिब १२ दिन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनले काभ्रेको नमोबुद्धमा ग्रीन तारा होमस्टे रिसोर्ट पनि चलाएको खुलेको छ । रिसोर्टबाट दुई दिनअघि मात्र उनी अपार्टमेन्टमा आएको खुलेको प्रहरीले जानकारी गराएको छ ।

ललितपुरका प्रहरी प्रमुख एवं एसएसपी शेखर खनाल समेत घटनास्थलमा पुगेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्