site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'जनता भ्रष्टाचार र कुशासनबाट दिक्क भए, ०४६ साल यताको सम्पत्ति छानबिन गरौँ'

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनता भ्रष्टाचार र कुशासनबाट दिक्क बनेको बताएका छन् । यसका लागि उनले ०४६ सालपछि अहिलेसम्म पदमा बसेर अनियमितता गर्नेहरूको सम्पत्ति छानबिन गर्नुपर्ने तर्क गरेका छन् । 

शुक्रबार उदयपुरको कटारीमा भएको पार्टीको कार्यक्रममा उनले सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने बताए ।

Argakhachi Cement Island Ad

“अहिले संसद्‌मा एउटा ऐन छलफलमा छ । ०४६ सालपछि पदमा बसेको, जो–जो हो, जसले अकूत सम्पत्ति कुम्ल्याएर बसेको छ, त्यस्तो व्यक्तिको सम्पत्ति छानविन हुनुपर्छ भनेर मैले आफैँ एउटा शक्तिशाली आयोग गठन गर्न प्रस्ताव लगेको छु,” उनले भने । 

फरक प्रसंगमा महामन्त्री थापाले सिंगो पार्टी चुनाव लड्ने मेसिनजस्तो हुन थालेको बताए । कांग्रेसभित्र पार्टीको आन्तरिक चुनावले आपसी सद्भाव हराएको भन्दै उनले अरूसँग भिड्नुपर्ने कांग्रेस एकआपसमा भिडेर बसिरहेको उल्लेख गरे ।

“आठ लाख ७० हजार मानिसहरूको दिमागमा एकै कुरा हालिदिएका छौँ, चुनाव । पार्टीभित्रको चुनाव पार्टीले लड्ने चुनाव । हामी सबै चुनावको एउटा मेसिनजस्ता भएका छौँ,” उनले भने, “पार्टीभित्रको चुनावले यति निर्दयी हुन्छौँ हामी यति धेरै निर्दयी हुन्छौँ माया सद्भाव हराउँछ कि हामी एक अर्कासँग जुधिरहेका छौँ ।”

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणाली वर्तमान नेपालको आवश्यकता भएको उल्लेख गरे । समानुपातिक निर्वाचन प्रणाली आवश्यक भए पनि नेताले खल्तीबाट नाम झिकेर सांसद बनाउने चलन नचाहिएको उनको भनाइ छ ।

“समाज जस्तो छ, संसद्लाई पनि त्यस्तै बनाउने परिकल्पा गरेका हौँ, त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो । तर, यो समानुपातिक प्रणालीमा नेताले खल्तीबाट नाम झिकेर सांसद बनाउने होइन, यस्तो अभ्यासलाई हामीले स्वीकार्न सकिँदैन,” थापाले भने । 

महामन्त्री थापाले तलदेखि माथिसम्म नेपाली कांग्रेसको सरकार भए पनि जनता खुसी हुन नसकेको भन्दै तीनवटै तहका सरकारले नागरिकले अनुभूत गर्ने गरी परिणाम दिनुपर्ने मत राखे ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्