site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धग्रस्त गाजामा इजिप्टले पठायो १९० ट्रक सहायता सामग्री 

काठमाडौं । इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ । इजिप्टले गाजापट्टीको युद्धग्रस्त प्यालेस्टाइनी एन्क्लेभमा सहायता सामग्री बोकेका १९० भन्दा बढी ट्रकहरू पठाएको हो ।

इजिप्टको ताह्या मिस्र कोषले उपलब्ध गराएको दुई हजार ५०० टन सहायता प्याकेज बोकेका ट्रक रफाह सीमानाका हुँदै गाजामा प्रवेश गर्नेछ ।

अक्टोबर ७ मा लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसको बदलास्वरूप इजरायलले गाजापट्टीमा आक्रमण गरिरहेको छ ।

हमासले इजरायलमा करिब एक हजार २०० व्यक्तिको हत्या गरेको थियो । २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको छ ।

जारी द्वन्द्वका क्रममा तटीय एन्क्लेभमा १२ हजार प्यालेस्टानीको मृत्यु भएको छ । गाजापट्टीमा पानी, बिजुली, इन्धन र अरू आवश्यक सामग्रीको आपूर्ति बन्द गरिएको छ ।

अक्टोबर २१ देखि इजिप्टबाट राफा क्रसिङ हुँदै प्यालेस्टाइनी एन्क्लेभमा सीमित मानवीय सहायतालाई प्रवेश अनुमति दिइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्