site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मुकुन्द पौडेलका पाँच मुक्तक  

१.    
थाहा छैन कस्तो हो यो, बाटो जिन्दगीको 
कहिले दुःख कहिले सुख, पाटो जिन्दगीको 
एकातिर पुर्दै गयो, अर्कोतिर खाल्डो 
जति भरौँ झन् गहिरो, खाटो जिन्दगीको ।  

२.
आज काम नगर्नेले, भन्ने त हो भोलि  
भोलि पनि उस्तै त हो, आउँछ अर्को भोलि 
भोलि भोलि भन्ने यहाँ, पुरानै हो चलन 
यसैगरी दिन बित्छन्, आउँदैन त्यो भोलि । 

३.
जति सक्यो झेल गर्ने, खेल राजनीति हो 
स्वार्थ मिल्दा मेल गर्ने, झेल राजनीति हो
शत्रु मित्रु हुन्नन् फरक, सबै बराबरी
झेलभित्र मेल हुने, भेल राजनीति हो । 

४.
पैलो गल्ती भएकै हो, दोस्रो गल्ती गर्या छैन 
माथि जान नसके नि, तल कहिले झर्या छैन 
यै हो मैले जिन्दगीमा, आजसम्म गरेको भुल
जति सक्छु आफैँ गर्छु, कसैको भर पर्या छैन । 

५. 
खनीखोस्री बाँझा गरा, बनाउनुछ हराभरा
भिजाउनुछ पानी राखी, बिरुवाका जराजरा
कृषिप्रधान देश हाम्रो, भनी मात्र कहाँ हुन्छ
जोगाउनुछ फेरि पनि, कृषिप्रधान परम्परा ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०६:१७
प्रतिक्रिया दिनुहोस्