site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोट भूकम्प : बाँकेमा ३८ घाइतेको उपचार
जाजरकोट जिल्ला अस्पतालमा उपचाररत भूकम्पपीडित । तस्बिर : सुरेश आचार्य/रासस ।

नेपालगन्ज । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीको संख्या ३८ पुगेको छ ।

गए राति एम्बुलेन्सबाट थप ६ जना उपचारार्थ नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएसँगै बिरामीको संख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तीमध्ये दुईजना जाजरकोटको भेरी नगरपालिकाका हुन् । चारजना रुकुमको सानोभेरीका हुन् ।

घाइतेमध्ये भेरी अस्पतालमा ३७ र कोहलपुर मेडिकल कलेजमा एकजनाको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यसअघि, शनिबार एकजना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

भूकम्पमा गम्भीर घाइते भएका पाँचजनाको शल्यक्रिया सफल भएको जानकारी दिँदै प्रजिअ पोखरेलले सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको बताए ।

मृतकको शव आज जाजरकोट पठाइएको छ ।

अस्पतालमा जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक बिरामी रहेका छन् । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि भेरी अस्पतालमा सार्ने तयारी भइरहेको बताइएको छ ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्