site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद् भन्छन्– दसैँ मनाउन मौसम बाधक बन्दैन, काठमाडौंमा चिसो बढ्यो 

काठमाडौं । यो वर्षको विजया दशमी भोलि (मंगलबार) मनाइँदै छ । दशमीमा टीका तथा जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । घरमा टीका लगाएपछि टाढा रहेका आफन्तजनकोमा पनि टीकाजमरा तथा आशीर्वाद थाप्न जाने हिन्दु परम्परा छ ।

यो वर्षको दसैँको विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले साथ दिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, केही स्थानमा वर्षा र हिमपातको भने सम्भावना छ । 

मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Argakhachi Cement Island Ad

सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले भोलि राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

एकदुई स्थानमा सामान्य वर्षा भनेको एक मिलिमिटरभन्दा कम वर्षा हुने सम्भावना हो भन्ने बुझ्नु पर्ने मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “भोलि पहाडी भू–भागका एकदुई स्थानमा सामान्य वर्षा हुने पूर्वानुमान छ । यो भनेको एक मिलिमिटरभन्दा कम हो,” उनी बाह्रखरीसँग भन्छन्, “यो भनेको निकै कम वर्षा हो । यसले खासै असर गर्दैन ।” 

यो वर्षको दसैँमा मौसमले बाधा नपुर्‍याउने उनको भनाइ छ । “मंगलबारको पूर्वानुमान हेर्दा यो वर्षको दसैँमा मौसमले बाधा पुर्‍याउने देखिँदैन,” मौसमविद् अधिकारी भन्छन्, “केही भू–भागमा हिमपताको पनि सम्भावना रहेको छ । तर त्यो पनि उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा हो । त्यसले खासै असर गर्दैन । त्यसैले यो वर्षको दसैँमा मौसमको अबरोध नरहने पूर्वानुमान छ ।” 

यसैबीच, चिसो भने बढ्न थालेको । काठमाडौंलगायत जिल्लामा चिसो बढेको छ । तराईका जिल्लामा समेत बिहान र बेलुका चिसो महसुस हुन थालेको छ । 

शनिबारसम्म ११ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम घटेर १० डिग्री सेल्सियसमा झरेको छ । “अस्तिसम्म १४ देखि ११ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम हिजोबाट घट्न सुरु भएको छ,” मौसमविद् अधिकारीले भने, “हिजो र आज काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस रहेको छ ।”

भोलि (मंगलबार) पनि काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसकै सेरोफेरोमा रहने उनले बताए । “भोलि ९ देखि ११ को बीचमा तापक्रम रहने पूर्वानुमान छ । त्यसैले भोलि पनि १० कै सेरोफेरोमा तापक्रम रहने सम्भावना छ,” मौसमविद् अधिकारीले भने, “यो चिसो बढ्दै जाने मौसम पनि हो । अब चिसोबाट सतर्क रहनुपर्छ ।” 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्