site stats
बाह्रखरी :: Baahrakhari
देश
मनाङ एयरका घाइते पाइलटलाई भारत लैजाने तयारी

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका निम्ति भारत लैजाने तयारी गरिएको छ । मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको ह्याम्स अस्पतालले जनाएको छ ।

शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । उनको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जनाएको छ ।

“उहाँको उपचार इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उहाँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै, उहाँको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ,” शनिबार बेलुका अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “उहाँको शरीर र हातको उपचारको लागि अपरेसन कक्षमा डेब्रिडमेन्ट र इस्काराक्टोमी गरी उपचार भएको छ ।”

उनको परिवारसित सरसल्लाहपश्चात् थप उपचारका निम्ति शनिबारै भारत लैजाने तयारी गरिएको अस्पतालका कन्सल्टेन्ट डा. सर्बिन कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्