site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्न पूर्वराष्ट्रपतिले गरे राष्ट्रपतिसमक्ष आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व राष्ट्रपति डा. रामवरण यादवले अहिले बन्द गरिएको गिटटी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन् । 

पूर्वराष्ट्रपति यादवले चुरे, जैविक विविधता, वन एवम् कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति पौडेललाई भेटेर ध्यानाकर्षण गराएका हुन् । 

Argakhachi Cement Island Ad

राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति यादवसहित विज्ञहरूले गराएकको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलकाअनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्न भण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि डा. यादवलगायतका विज्ञलाई बताए ।

मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो । विधेयकमा हाल बन्द भएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी गर्ने बारेमा उल्लेख भएको पनि यादवले जानकारी दिए। 

यादवले सो विधेयक संसद्‌बाट जस्ताको त्यस्तै पारित भए राष्ट्रको अस्तित्वमाथि नै खतरा आइपर्ने बताए । 

सो अवसरमा पूर्वराष्ट्रपति यादवसँग चुरे विज्ञ डा. विजयकुमार सिंह दनुवार, वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, जैविक विविधता विज्ञ डा. रामप्रसाद  चौधरी, वन तथा चुरे विज्ञ डा. विनोद भट्ट, डा. नागेन्द्र यादव, कृषि विज्ञ डा. कृष्ण पौडेल सहभागी थिए ।

जैविक विविधतासम्बन्धी ६ जना विज्ञहरूले बन्द गरिएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउन लिखित आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्