site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालगन्जको अवस्था तनावपूर्ण– अनिश्चितकालीन कर्फ्यू (भिडियोसहित)

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाको अवस्था तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नगरक्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ । 

नेपालगन्जमा केही दिनयता हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव बिग्रँदै गएको थियो ।  सामाजिक सञ्जालमा एक हिन्दु युवाको नाममा रहेको फेसबुक आइडीबाट मुस्लिम समुदायलाई लक्षित गरेर लेखिएको स्टाटसको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । 

nepalgunj1-1696331384.jpg

गत आइतबार एक युवाले लेखेको स्टाटसले आफनो धर्म र समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै मुस्लिम युवाहरुले कारबाहीको लागि माग राख्दै विरोध प्रदर्शन गरेका थिए । 

जिल्ला प्रशासनमा गएर उनीहरुले उक्त स्टाटस लेख्ने युवालाई कारबाहीको काम गर्दै नगर क्षेत्रमा केहीघण्टा विरोध प्रदर्शन गरेका थिए ।  अवस्था बिग्रँदै गएपछि बाँकेमा शान्ति र सद्भाव कायम राख्न सबै धर्मका अगुवाहरुको बैठकले मंगलबार सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो । 

जसअनुसार मंगलबार बिहानै सबै धर्मका अगुवा, जिल्ला प्रशासन कार्यालयका प्रमुख विपिन आचार्य, नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टलगायतका विभिन्न दलका नेताहरुको अगुवामा सद्भाव र्‍यालीसमेत गरिएको थियो । 

nepalgunj2-1696331384.jpg

मंगलबार ओमकार परिवार हिन्दु समाजले नेपालगन्ज नगरमा बन्दको आह्वान गर्दै विरोध प्रदर्शन गरेको थियो ।  विरोधका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड, नगरका केही पसल र घरमा तोडफोड गर्दै तनावपूर्ण अवस्थाको सिर्जना गरेपछि स्थानीय प्रशासनले मंगलबार दिउँसोदेखि कर्फ्यूको घोषणा गरेको छ । 

nepalgunj3-1696331384.jpg

तोडफोडका क्रममा केही सवारी साधन र मोटरसाइकलमा आगजनीसमेत भएको छ ।   जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज नगरसँग जोडिएको पूर्वमा राप्ती नदी पूल, पश्चिममा खजुुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यू लगाएको जानकारी गराएका छन् । 

nepalgung6-1696331383.jpg

उक्त स्थानमा स्थानीय प्रशासनले कुनै पनि भेला, सभा समारोह, जुलुस, र्‍याली, हुल हुज्जत र अत्यावश्यक काममाबाहेक हिँडडुलमा रोक लगाएको छ । 

nepalgunj-1696331383.jpg

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्