site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको विकल्प खोज्न सबै दल र सांसदलाई ओलीको आह्वान

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विकल्प खोज्न आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर सम्बोधन गर्दै वर्तमान सरकार जति समय राख्यो त्यति नै देशलाई बोझ बढ्ने बताए ।

Argakhachi Cement Island Ad

उनले देशमा सञ्चालिन परियोजना समेत सञ्चालन गर्न नसक्ने सरकारले संविधान र व्यवस्थाको रक्षामा पनि असफल भएको भन्दै सरकारको विकल्प खोज्नका लागि आह्वान गरेका हुन् ।

“सर्भिस डेलिभिरी दिन नसक्ने, डेभलपमेन्ट डेलिभरी दिन नसक्ने, केवल रित्तो कोल अथवा आइरो नहालेको जाँतो घुमाएर सत्ता भोग गर्ने पद अशक्त यो सरकारको अझैपनि औचित्य केही छ र ?,” प्रश्न गर्दै ओलीले भने, “अब थप क्षति हुनबाट राष्ट्रलाई जोगाउनुपर्छ । म सबै माननीयज्यूहरूमा, सबै दलहरूमा आह्वान गर्दछु ।”

उनले देशमा सरकार प्रमुख खोज्नुपने अवस्था आएको भन्दै प्रधानमन्त्री नभए पनि देश चल्ने रहेछ भन्ने सन्देश दिएको बताए । वर्तमान सरकारले संसद् र जनता दुवैको सामना गर्न नसक्ने भन्दै यस्तो सरकार राखिरहनु उपयुक्त नहुने बताए ।

“यो सरकारले संसद् र जनतासँग फेस गर्न सक्दैन । आयोजनाहरू अलपत्र छन् । कतिपय खारेज गरिएको छ । कतिपय देखाउनका लागि निरन्तरता दिइएको छ । तर, आयोजनाहरूलाई बजेट दिइएको छैन,” ओलीले भने, “हामीले सम्पन्न पूर्वाधारको प्रयोग गरी यो आर्थिक उपार्जन गर्ने कुरा यो सरकारको प्राथमिकतामा परेन ।”

उनले सरकारको प्राथमिकता वैदेशिक ऋण लिएर कार्यकर्तालाई करारमा जागि खुवाउनेमा देखिएको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्