site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले भन्यो– सदनमा पेस गरिएको शिक्षा विधेयक परिमार्जन हुन्छ
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले सदनमा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ ।

मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो ।

Argakhachi Cement Island Ad

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधबार (भोलि) अपराह्न १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको बताए ।

“हामी यसलाई परिमार्जन गर्छौँ । शिक्षाको यो विधेयकलाई परिमार्जन गर्ने, समृद्ध बनाउने कुरा नै भएको हुनाले नेपाली कांग्रेसको तर्फबाट संसद्मा यो विधेयकलाई परिमार्जन गर्ने गरेर हाम्रो भूमिका निर्धारण हुन्छ,” उनले भने, “सरकारको विधेयक ल्याउने काम हो । हामी त्यसलाई परिमार्जन गर्छौैँ ।”

यता, सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसद्बाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराए । सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्ने गरी सो विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराइएको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।

“माइतीघर मण्डलाबाट बाल शिक्षकहरु र राहत शिक्षकहरुलाई विद्यालय पठाउने वातावरण फेरि बनाइ दिनुप¥यो,” उनले भनिन्, “त्यहाँ हाम्रा साथीहरुलाई सडकमा सुताउने काम गर्नुभएन । हामीले त्यही भनेका छौँ ।”

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्