site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरका दुई छात्राले दिए बालगृहका बालबालिकालाई जुत्ता र खेल सामग्री

काठमाडौं । ललितपुरका दुई छात्राले काठमाडौंको तारकेश्वर नगरपालिका–३, ठूलागाउँस्थित आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् ।

ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र उनकी साथी दिव्यांशी जोशीले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन् ।

आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयको खेलकुद विभाग, रोटरी क्लब अफ नागार्जुन र नेपाल जुत्ता फ्याक्ट्रीको सहयोगमा सामग्री संकलन गरिएको नमामीले बताइन् । उनले छुट्टीका दिन आफ्ना बाबु एवं व्यवसायी सुदीप आचार्यसँग घुम्न जाँदा उक्त बालगृह देखेकी थिइन् ।

एक महिनायता हरेक सार्वजनिक बिदाका दिन नमामी र उनकी साथी दिव्यांशीले बालगृहमा रहेका बालबालिकालाई अंग्रेजी भाषा सिकाउँदै आएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीका नरबहादुर राउतको अभिभावकत्वमा सञ्चालित बालगृहमा विभिन्न उमेर समूहका गरी ४६ बालबालिका छन् । उनीहरू स्थानीय नागार्जुन ठूलागाँउ माविमा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत छन् ।

अघिल्लो शनिबार बालगृहनजिकै खुला चौरमा विद्यार्थी कोही खाली खुट्टा र कोही चप्पल लगाएर फुटबल खेलिरहेको देखेपछि आफूले जुत्ता संकलन गरेर वितरण गर्ने योजना बनाएको नमामीले बताइन् । “हामी आउँदा उनीहरू फुटबल खेलिरहेका थिए । कसैको खुट्टा खाली थियो । कोही चप्पल लगाएर खेलिरहेका,” उनले भनिन्, “कति बेला त खाली बल हिर्काउँदा ठोक्किएर घाउ हुनेरहेछ । यो देखेर मलाई यिनीहरूलाई जुत्ताको जरुरी रहेछ भन्ने लाग्यो ।”

नमामी र दिव्यांशीले आश्रममा रहेका सबैलाई एक/एक गरी ४६ जोर र फुटबल खेलाडी ११ जनाका लागि छुट्टै स्पोर्ट्स सुज, दुईवटा फुटबल, जर्सी र प्याड दिए । 

कार्यक्रममा नमामीका पिता एवं डिश होम नेटवर्कका प्रबन्ध निर्देशक सुदीप अचार्य, आमा एवं रास्वपा नेत्री लीमा अधिकारी, रोटरी क्लब अफ नागार्जुनका अध्यक्ष प्रकाश डोटेल, नागार्जुन ठूलागाँउ माविका प्रधानाध्यापक अर्जुन फुयाँल, शिक्षक शिवप्रसाद फुयाँल र आश्रमका सञ्चालक राउतलगायत व्यक्ति सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्