site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सद्भाव कायम राख्ने पर्वका रूपमा तिज मनाऔँ : मन्त्री देवी
फाइल तस्बिर ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यो वर्षको हरितालिका तिजलाई सामाजिक सद्भाव कायम राख्ने गरी मनाउन आग्रह गरेकी छन् । आउँदो असोज १ गते तिज पर्व मनाइँदै छ ।

उनले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै पर्व मनाउन सबै नारीलाई आग्रह गरिन् । शनिबार काठमाडौंमा आयोजित ‘तिज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा मन्त्री देवीले यस्तो बताएकी हुन् ।

“देशका लागि योगदान दिने नारीहरूलाई सम्मान गर्ने असल कार्यलाई निरन्तरता दिनुपर्दछ । यस वर्षको हरितालिका तिज असोज १ गते विशेष रूपले तिजको मौलिकता र सामाजिक सद्भावलाई कायम राखी मनाउन आग्रह गर्दछु,” उनले भनिन्, “आगामी तिजले सम्पूर्ण दिदीबहिनीहरूका परिवारमा सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता कायम होस् भन्ने हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।”

तिजले माइती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले यो पर्वको विशेष महत्त्व रहेको उनले उल्लेख गरिन् । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका नौ नारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्