site stats
बाह्रखरी :: Baahrakhari
देश
खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु
फाइल तस्बिर ।

रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६, घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् ।

मनोज र भावना एकै घरका दाजुबहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । आइतबार अपराह्न विद्यालयबाट घर फर्कने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको उनले बताए ।

मनोजको १५० र भावनाको शव सो स्थानबाट ८०० मिटर तल फेला परेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दाजुबहिनी बगेका हुन् ।

उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा–३ र कक्षा–१ मा पढ्थे । आइतबार दिउँसो रुकुम पश्चिममा हावाहुरीसँगै वर्षा भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्