site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार ढल्दैन, समाजवादी मोर्चाले कांग्रेसमा चिसो पसेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर समाजवादी मोर्चा बनाउँदा नेपाली कांग्रेसलाई चिसो नपसेको दाबी गरेका छन् ।

बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले मोर्चाका कारण कांग्रेसलाई चिसो नपसेको बताए । उनले कम्युनिस्ट पार्टी मिलेपछि देश बलियो हुने बताए ।

“मोर्चा बनेपछि कांग्रेसमा चिसो पस्यो भन्ने लागेको होला । चिसो पसेको छैन,” नेपालले भने, “कम्युनिस्ट मिलेका खण्डमा देशलाई बलियो बनाउन सकिन्छ । निर्वाचन प्रणाली नै त्यस्तो छ, एक्काएक्लै कसैको पार लाग्दैन ।”

उनले एकतामा शक्ति हुने, शक्तिमा ऊर्जा हुने र ऊर्जामा परिवर्तन गर्ने तागत हुने बताए । अध्यक्ष नेपालले निर्वाचनमा पैसाको चलखेल हुने भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताए ।

“निर्वाचन प्रणालीमा पैसाको चलखेल हुने गर्छ । पैसामुखी निर्वाचनलाई कसरी परिवर्तन गर्ने छलफल गर्नुपर्छ,” नेपालले भने ।

उनले अहिलेको निर्वाचन प्रणालीबाट एक्लै कसैले बहुमत ल्याउन नसक्ने बताए । निर्वाचनबाट कुनै एउटा पार्टीले बहुमत ल्याउन नसकेकाले मोर्चाको कुरा आएको उनको भनाइ छ ।

उनले सरकारलाई देशी विदेशी शक्तिले हल्लाउन नसक्ने दाबी गरे । कसैलाई ढलोस् भन्ने लागेको भए असिन पसिन हुन दिन उनको आग्रह छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी कामको प्रशंसा गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्