site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँ नक्सामा लिपुलेक–कालापानीलाई भारतमा देखाएपछि मेयर बालेनले गरे चीन भ्रमण स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो पाँचदिने चीन भ्रमण रद्द गरेको घोषणा गरेका छन् ।

चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतभित्र देखाएपछि त्यसको विरोध स्वरुप आफ्नो चीन भ्रमण रद्द गरेको घोषणा गरेका हुन् ।

“नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौँ,” बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, “त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।”

चीनले सोमबार भारतको अरुणाचल, अक्साई चीन, दक्षिणी चीन सागर र ताइवानलाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सालाई चीनले ‘स्ट्यान्डर्ड म्याप’ नाम दिएको छ ।

“हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ,” बालेनले भनेका छन्, “केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ ।”

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले नयाँ नक्सा पहिलोपटक सार्वजनिक गरेको थियो ।

सामाजिक सञ्जालमा नयाँ नक्सा सार्वजनिक गर्दै ग्लोबल टाइम्सले लेखेको थियो, “चीनको २०२३ को स्ट्यान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा लन्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रोइङ्ग मेथड’को आधारमा बनाइएको हो ।”

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्