site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई क्यापिटलको मर्जरपछि ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साविकको बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएका छन् ।

मर्ज भई ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रूपमा शुभारम्भ भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरेका हुन् ।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन अध्यक्ष हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रूपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको बताए ।

बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकोले संस्थागत सुशासन सहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरूलाई उनले आग्रह गरे । 

साथै, नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिका समेत खेल्दै मर्चेन्ट बैंकरहरू बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गरे ।

एकीकृत कारोबारको शुभारम्भमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रूपमा स्थापित भएकोमा सोही अनुरूप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए ।

अध्यक्ष ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरूले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण समेत गराए ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्