site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मन्त्री भण्डारी भन्छन्– नेपालको अर्थतन्त्र अझै केही वर्ष वैदेशिक रोजगारीमै निर्भर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको अर्थतन्त्र अझै केही वर्ष वैदेशिक रोजगारीमा निर्भर हुने बताएका छन् । शुक्रबार मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले वैदेशिक रोजगारबाट नै मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने अवस्था अहिले पनि कायम रहेको बताएका हुन् । 

मन्त्री भण्डारीले सरकारले अहिले वैदेशिक रोजगार ऐन संशोधन गर्न गृहकार्य गरेर टुंगोमा पु¥याउन लागेको बताए । “तपाईंहरूका साझा समस्या छन्, त्यसको समाधान हामीले गर्दै जानुपर्छ । हाम्रो अर्थतन्त्र वैदेशिक रोजगारमा नै भर पर्नुपर्ने अवस्थामा छ । हामी चर्को कुरा गर्छौं तर सत्य वैदेशिक रोजगारबिना अघि बढ्न सकिरहेका छैनौँ,” उनले भने, “जतिसुकै चर्को नारा लगाए पनि वैदेशिक रोजगारमा नै हामीले हाम्रो अर्थतन्त्र अघि बढाउनुपर्ने छ ।” 

Argakhachi Cement Island Ad

वैदेशिक रोजगार ऐन परिमार्जनका लागि नागरिक समाज अभियानको तर्फबाट मौजुदा वैदेशिक रोजगार ऐन, २०६४ मा परिमार्जनका लागि नागरिकस्तरमा संकलन गरिएको ६ हजार १५९ नागरिकको हस्ताक्षर र ज्ञापनपत्र मन्त्री भण्डारीलाई बुझाइएको हो । नागरिक समाज अभियानले तयार पारेको वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जनका लागि १८ वटा शीर्षकसहितको २८ पेजको प्रस्तावसमेत मन्त्रीलाई बुझाएको छ । 

उनीहरूले आप्रवासी कामदारलाई मतदानको अधिकार दिलाउन कानुनी व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा कामदार पठाउँदा शून्य लागत हुनुपर्ने, वैदेशिक रोजगार व्यवसाय गर्न मापदण्ड तोक्नु पर्ने, व्यवसायीको अनुगमन प्रभावकारी बनाउनु पर्ने, वैदेशिक रोजगारमा महिलामाथिको भेदभाव हटाउँदै खाडी मुलुकमा घरेलु महिला कामदारमाथिको प्रतिवन्ध हटाउनुपर्नेलगायत १० वटा माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।   

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्