site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा  ज्येष्ठ सदस्य मन्त्री बन्दै, उपसभामुख  अनुपस्थित भए के हुन्छ ?

विराटनगर ।‌ नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त हुँदै छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुखले उनलाई आजै मन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।  

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बुधबार नै शपथ हुने बताएका छन् । अब विश्वासको मत लिने र बजेट पारित गराउन प्रदेससभा बैठक संचालन गर्न उपसभामुख अनुपस्थित भए मण्डलले अध्यक्षता गर्नुपर्ने छैन । 

मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग  बहुमत पुग्ने ४७ सांसद छन् । विश्वासको मत लिँदा उपसभामुख अनुपस्थित भए मण्डलले सभा संचालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो । त्यस अवस्थामा सभाध्यक्षले मत हाल्न नपाउँदा ४६ संख्या मात्र पुग्ने थियो । मुख्यमन्त्री उद्धव थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।‌

तर, अब सभाध्यक्ष सदस्यमध्ये एक जनाले सभा संचालन गर्नुपर्ने हुन्छ । 

सभामुखले सरकार गठन गर्न पहिलो पटक हस्ताक्षर गर्दा एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो । यो प्रक्रियालाई अदालतले बदर गरिदिएको थियो । 

दोस्रो पटक गठबन्धन सरकार बनाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए । अहिले कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार छ । सरकारले भदौ १० गतेभित्र बजेट पारित गर्नुपर्नेछ ‌ । १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ । 

एमाले नेतृत्वको सरकारले जेठ ३२ गते अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । बजेटमा संशोधन गर्ने सरकारको तयारी छ । मुख्यमन्त्री थापाले प्रतिस्थापन विधेयक ल्याइने बताएका छन् ।‌

एमालेले आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट पारित गराउने तर विश्वासको मत लिन भने उपसभामुख सिर्जना दनुवार अनुपस्थित गराउने रणनीति लिएको गठबन्धनका एक सांसदले बताए । उपसभामुख अनुपस्थित हुँदा ज्येष्ठ सदस्य मण्डलले सभा चलाउन नपरोस् भनेर उनलाई मन्त्री बनाइएको स्रोतको भनाइ छ । उपसभामुख दनुवारले भने आफू नभाग्ने र सभा बैठक संचालन गर्ने बताउँदै आएकी छन् । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्