site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अब बहुमत आए सदनबाटै पहिचानका आधारमा कोसीको नामकरण हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामकरण हुने बताएका छन् ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसअघि आफूहरूले पहिचानका आधारमा प्रदेश कायम गर्ने प्रयास गर्दा बहुमत नभएकाले असफल भएको बताए । 

उनले अहिलेको घटनाक्रमले नयाँ चेतना पैदा भएको र त्यही चेतनाको बलमा पहिचानसहितको प्रदेशको नामकरण गर्न सकिने धारणा राखे । १ नम्बर प्रदेशलाई कोसी प्रदेश नामकरण गर्नु अगाडि आफूले किरात प्रदेश राख्न उचित हुने धारणा राखेको उनले बताए ।

प्रचण्डले कोसी प्रदेश नामकरण भइसकेपछि भएको आन्दोलनमा आफूले पनि चासो राखेको र पहिचान र अधिकारको आन्दोलनको नेता हुनुको नाताले आन्दोलनको क्रममा सहादत प्राप्त गर्नेलाई सहिद घोषणा र क्षतिपूर्तिको पनि निर्णय गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिका कारण पैदा भएको संवेदनशीलताप्रति सरकार गम्भीर रहेको भन्दै गृह र सम्बन्धित प्रहरी अधिकृतलाई रोखर छलफल गरेपछि दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्