site stats
बाह्रखरी :: Baahrakhari
देश
सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी
फाइल तस्बिर।

काठमाडौं । डा गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति निकाल्दै केसीले चर्को शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने बताएका हुन् । 

लामो समयदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासनका लागि संघर्षरत रहेको भन्दै उनले पछिल्लो समय सीटीईभीटीले नर्सिङलगायतका विषयमा चर्को शुल्क बढाएकोप्रति ध्यानाकर्षण भएको बताए ।

देश आर्थिक रुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु आफैँमा विडम्बनाको कुरा भएको उनले उल्लेख गरेका छन् । एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित भएको उनको ठहर छ ।

स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण सीटीईभीटीले यस्तो निर्णय गरेको उनले उल्लेख गरेका छन् । उनका अनुसार चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्शबिना सीटीईभीटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण देखिन्छ ।

“शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ,” उनले  विज्ञप्तिमा लेखेका छन्, “त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौँ ।”

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्