site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१.८ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म दुई खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो ।

Argakhachi Cement Island Ad

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ७४ करोडले बचतमा छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ । गत असारमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई एक खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । वि.सं. २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ ।

चालु आवको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । रासस

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्