site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शनिबार पनि राजस्व संकलन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दुई शनिबार राजस्वको कारोबार गर्ने बैंक तथा शाखा कार्यालयहरूलाई खुल्ला राख्न निर्देशन दिएको छ । 

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ । 

त्यस्तै असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरू, चेक क्लियरिङ एवम विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरूका साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्