site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘पुरानो सम्बन्ध’ देखाएर भक्ति सिटौला फकाउँदै कांग्रेस

विराटनगर । प्रायःजसो कोसी प्रदेशसभामा प्रवेश गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भक्ति सिटौलाले ‘जय नेपाल’ को अभिवादन प्राप्त गर्छन् ।  कांग्रेसका धेरै प्रदेश सभा सदस्यले यसो भन्दै गर्दा उनी पनि त्यसलाई सहज स्वीकार गर्दै ‘जय नेपाल, जय नेपाल’ भन्न पछि पर्दैनन् ।

२०३६÷०३७ तिर नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूलधारको राजनीतिमा प्रवेश गरेका सिटौलाले २०७० मा कांग्रेस छाडेका हुन् । त्यसबेला झापाको निर्वाचन क्षेत्र नम्बर २ मा संविधानसभा सदस्यमा उठ्ने तयारीमा थिए । तर, कांग्रेस नेतृत्वले टिकट दिएन । क्षेत्र नम्बर २ मा उनको सट्टा उद्धव थापा उमेदवार बनाइए ।

‘पार्टी नेतृत्वले काविल भएर पनि भेदभाव गर्दै बेवास्ता गरेपछि’ सिटौलाले कांग्रेस छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी राजे । त्यतिबेला संविधानसभा सदस्यमा राप्रपाबाट मनोनयन दर्ता गराएपछि कांग्रेससँगको ३० वर्षे नाता सम्बन्ध टुटेको थियो । 

Argakhachi Cement Island Ad

अहिले प्रदेश सरकार गठनमा ‘कि फ्याक्टर’

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असार १५ गते विश्वासको मत लिन नसकेपछि गठबन्धनले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । तर, संसदीय अंक गणितको हिसाबले राप्रपालाई साथ नलिइ सहज सरकार बनाउन कांग्रेसलाई हम्मे छ । 

विगतमा कांग्रेसबाट ‘अपमानपूर्ण ढंगले’ बर्हिगमित सिटौलाले ‘के कांग्रेसलाई साथ देलान् ?’ आम राजनीतिक वृत्तमा अहिले चर्चा चुलिएको छ । 

केन्द्रीय स्तरमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्दनेबीच छलफल भए पनि कुन मोडालिटीमा सरकार बन्ने ? र राप्रपाको अवस्था के हुने ? भन्ने टुंगो लाग्न सकेको छैन । एमालेको साथ लिएर निर्वाचनमा विजयी भएको राप्रपाले गठबन्धनलाई साथ दिने नदिने निर्णय हुन बाँकी छ ।  

राप्रपा कोसी प्रदेश संसदीय दलका नेता तथा काम चलाउ सरकारका मन्त्री सिटौलाले गठबन्धनमा सामेल भई सरकारमा जाने विषयमा ठोस छलफल हुन अझै बाँकी रहेको बताएका छन् । 

सरकारको ‘नेतृत्व कसले गर्ने, व्यक्ति को हुने ?’ जस्तो विषयमा पहिले छलफल नभएको भन्दै परिस्थिति हेरेर राप्रपा अघि बढ्ने बताएका छन् ।  “यसबारे निर्णय गर्ने जिम्मा राष्ट्रिय अध्यक्ष लिङ्देनलाई दिइएको छ । हामीले प्रदेशस्तरमा गठबन्धन दलसँग अहिले छलफल गरेका छैनौं,” उनले भने । 

राप्रपाको साथ पाए गठबन्धनले ५२ सांसदको समर्थनसहित सहज ढंगको सरकार बनाउन सक्छ । नपाए सरकार गठन भए पनि ३० दिनपछि विश्वासको मत लिँदा अप्ठ्यारो हुनसक्छ । 

माओवादी केन्द्रका सभामुखसहित गणना गर्दा ४७ मत पुग्छ । कोसीमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसद छन् । एमालेसँग आफ्नो ४० सहित राप्रपाका ६ सांसद छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्