site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनएमबि खेती कर्जाको सुरुआत, पाँच मिनेटमै पाइने

काठमाडौं । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो एनएमबि खेती कर्जाको आधिकारिक रूपमा शुभारम्भ गरिएको छ । यस कर्जामार्फत किसानले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा पाँच मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन् ।

वित्तीय पहुँचबाट वञ्चित किसानले सहज रूपमा कर्जा प्राप्त गर्न सकून् भनी पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित बिनाधितो कर्जा नेपालमा नै पहिलोपटक सुरु गरिएको छ ।

किसानले आफूलाई आवश्यक कृषि बिउ–बिजन, अरू विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरण खरिद गर्नका लागि यो कर्जा सरल किस्ताबन्दीमा बिनाधितो प्राप्त गर्न सक्नेछन् । यस कर्जा प्राप्त गर्नका लागि अरू कर्जाजस्तो आवश्यक कागजात पेस गर्नुपर्ने झन्झट व्यहोर्नु नपर्ने बताइएको छ । यो कर्जा पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित भएकाले किसानले खेतीसँग पहिला गरेको कारोबारको मूल्यांकन गरेर स्वीकृत गरिने बताइएको छ ।

ग्राहकले तीन महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । कर्जा चुक्ता गरिसकेपछि फेरि अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन् ।

एनएमबि खेती कर्जा प्राप्त गर्नका लागि ग्राहकले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्छ भने खेतील एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुका साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरुजस्ता खेतीका महत्त्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्नेछ ।

देशले कृषिको व्यावसायीकरणमा जोड दिइरहेको अवस्थामा किसानलाई पूर्ण रूपमा डिजिटल प्र्रविधिमा आधारित बिनाधितो कर्जा पाँच मिनेटभित्र प्राप्त गर्न सकिने एनएमबि खेती कर्जाले किसान लाभान्वित भएर समग्र कृषि क्षेत्रको विकास भई नेपालको अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव परी देशको आर्थिक विकासमा मद्दत पुग्ने बैंक र खेतीको विश्वास रहेको बताइएको छ ।

एनएमबि बैंकले २०१ शाखा कार्यालय, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्