site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फ्रान्समा तनाव : एक हजारजना पक्राउ

पेरिस । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेको घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले फ्रान्सका सडकमा ठाउँठाउँमा आगो बालेर आवागमनमा अवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमण समेत गरेका छन् ।

सीएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ । अहिलेसम्म प्रहरीले करिब एक हजारजनालाई पक्राउ गरेको छ ।

फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ । सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ ।

शुक्रबार रातिसम्म ७९ प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण गरिएको छ ।

बीएफएम टीभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो । कुनै मानवीय क्षति भने भएको थिएन ।

पेरिसको उपनगरीय सहर नान्टेरेमा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्युपश्चात् यो घटना भएको हो ।

उनलाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको थियो । नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २२:३६
प्रतिक्रिया दिनुहोस्