site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फ्रान्समा भइरहेको प्रदर्शनमा ८७५ जना पक्राउ

काठमाडौं । फ्रान्समा प्रहरीले एक किशोरलाई गोली हानेर मारेको विरोधमा भइरहेको प्रदर्शनबाट ८७५ जना पक्राउ परेका छन् । मंगलबार भएको घटनापछि निरन्तर जारी विरोध प्रदर्शनमा कैयौँ घर, पसल, गाडीमा तोडफोड र आगजनी गरिएको छ ।

स्थिति नियन्त्रणमा लिन फ्रान्सभर ४० हजार प्रहरी तैनाथ गरिएको छ ।संकटलाई लिएर फ्रान्सेका राष्ट्रपति इम्यानुएल म्याक्रोन मन्त्रीहरूसँग अर्को बैठक बस्ने भएका छन् ।

ब्रसेल्समा भएको युरोपेली शिखर सम्मेलनबाट देश फर्कन म्याक्रोन हतारमा बाहिरिएका छन् । बेल्जियमको राजधानीमा उनले आफ्नो प्रेस सम्मेलन रद्द गरेका छन् ।

ट्राफिक नियम उल्लंघन गरेको भनेर प्रहरीले कार चलाइरहेका नाहेल एम नामका १७ वर्षीय अल्जेरियन मूलका एक युवकलाई रोकेर गोली हानी हत्या गरेको थियो ।

नाहेललाई गोली हानेका अधिकारीले परिवारसँग माफी मागेका छन् । ती प्रहरी अधिकारीमाथि हत्याको आरोप लागेको छ ।

नाहेलकी आमाले सम्पूर्ण प्रहरी बल नभएर ती अधिकारी दोषी भएको भनेकी छन् । यस घटनाले फ्रान्समा जातीय विभेदको गन्धलाई झल्काउँदै हिंसा बढाएको छ । 

एजेन्सीबाट ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्