site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्कटल्यान्डसँगको हारसँगै यूएई बाहिरियो

काठमाडौं । स्कटल्यान्डसँग १११ रनको फराकिलो हार बेहोरेसँगै युनाइटेड अरब इमिरेट्स (यूएई) आईसीसी क्रिकेट विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

शुक्रबार जिम्बाब्वेको बुलावाओमा भएको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले ३५.३ ओभमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा २८२ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले १२७ रन बनाए । उनले १३६ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । मार्क वाटले ४४, मिचेल लियस्कले ४१, क्रिस ग्रेभेसले २२, र म्याथ्यु क्रसले १३ रन बनाए ।

यूएईका जुनैद सिद्दिकीले तीन विकेट लिए । अली नासिरले दुई विकेट लिँदा जहुर खान र कार्थिक मयप्पनले समान एक विकेट लिए ।

२८३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईका कप्तान मुहम्मद वसिमले ३६ रन बनाए । बसिल हमिदले ३०, कार्थिक कयप्पनले २३, आयान अफ्जल खानले २१ र अली नासिरले १९ रन जोडे ।

यूएईलाई सस्तैमा समेट्न सफ्यान सरिफले चार विकेट लिए । ६.३ ओभर बलिङ गरेका सरिफले एक मेडन राख्दै २० रन खर्चिए । क्रिस सोलले तीन विकेट लिँदा ब्रान्डन म्याकमुलम, मार्क वाट र क्रिस ग्रेभेसले समान एक विकेट लिए ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको स्कटल्यान्डले समूह ‘बी’ बाट सुपर सिक्समा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । लगातार तीन खेलमा हार बेहोरेको यूएई भने समूह चरणको अन्तिम खेलअगावै छनोटबाट बाहिरिएको छ ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्