site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराँती
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरणपश्चात् आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सिमाना भएको पनि बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान/अवतरण सुरु गर्नु पहिलो कदम भए पनि यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले उल्लेख गरे ।

“यो सुरुआत गर्नु धेरै ठूलो कुरा हो । यो भन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो । यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ,” उनले भने, “सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो । योभन्दा अग्लो सिमाना दुनियाँमा कतै छैन । तर, अनौठो कुरा यो प्राकृतिक सिमाना जति अग्लो छ, त्योभन्दा अग्लो हामी दुई (नेपाल–चीन) देशबीचको सम्बन्ध छ । हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ ।” 

मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको बताए । यो सम्बन्धलाई अझ विस्तार र सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्