site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौती– तपाईं बजेटको समर्थन गर्नुस्, हामी गर्दैनौँ 
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिइने चेतावनी दिएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरूले त्यसमा समर्थन गर्न नसक्ने उनले स्पष्ट पारे । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिइने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने बताए ।

उनले सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको टिप्पणी पनि गरे ।

“हामी सबै सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्यौँ । बरु, गाउँपालिका, नगरपालिकामा जित्ने साथीले पाँच वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ । तर, मन्त्रीहरू सबैले आफूलाई अस्थायी ठान्यौँ । हामीले जस मात्रै खोज्यौँ । राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन,” उनले भने, “यही वर्ष पनि सरकारले हामीसँग पैसा छैन, पुँजीगत खर्च कम छ, साथी हो, तपाईंहरू चुप लाग्नुस्, राष्ट्रिय गौरवका आयोजनामा पैसा हाल्ने, उत्तर–दक्षिण जोड्ने केही महत्त्वपूर्ण आयोजनाहरूलदाई पैसा हाल्ने, राष्ट्रिय खानेपानी आयोजना, पुलहरूमा पैसा हाल्ने, अरूमा पैसा प्रयोग नगर्ने भनेर सुरु गरेको भए हामीले दुई दिनमा संसद्मा छलफल सक्दथ्यौँ । यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु– भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु ।”

उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने बताए ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्