site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युतीय भुक्तानीमा ठगी हुन थालेको भन्दै राष्ट्र बैंकले गरायो सजग

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीका उपकरणबाट हुने ठगी धन्दाबाट सजग हुन अनुरोध गरेको छ । पछिल्लो समय विद्युतीय भुक्तानी उपकरणमा ठगी धन्दा बढेको भन्दै केही गरी आफ्नो मोबाइल नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) नम्बर आए त्यो जानकारी आफ्नो सम्बन्धित बै‌क वा राष्ट्र बैंकमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट अईपीएस, मोबाइल वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याइ ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरूमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पनि जानकारी दिइएको छ ।

विगत केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी)सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी (निश्चित अंकको नम्बर÷नम्बर) उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगराउन पनि राष्ट्र बैंकले भनेको छ । कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन पनि सुसूचीत गराएको छ । त्यस्तै, यस्ता गतिविधि थाहा भएमा राष्ट्र बैंकको इमेल ठेगाना [email protected] मा जानकारी गराउन पनि भनिएको छ ।

Image

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्