site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यादेशमार्फत बजेट ल्याए अस्वीकार गर्ने कोसीका चार दलको चेतावनी

विराटनगर । कोसी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेपछि प्रमुख चारवटा दलले विरोध गरेका छन् ।

कोसी प्रदेशको चालु बजेट अधिवेशन अन्त्य गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । 

आइतबार चार दलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, "चार दलले ‘अल्पमतमा परेको एमाले नेतृत्वको सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याएर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको शंका उत्पन्न भएको छ ।"

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

अध्यादेशबाट बजेट ल्याउनु संविधानको धारा १८४ को उपधारा (२), २०२ को उपधारा (१) विपरीत हुने भन्दै उनीहरूले त्यस्तो बजेट अस्वीकार गर्ने चेतावनी दिएका छन् । उनीहरूले प्रदेश सभामै बजेट पेस गर्नुपर्ने व्यवस्थालाई  हेक्का राख्न मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण पनि गराएका छन् ।

विज्ञप्तिमा रातो किताबमा राखिएका र खरिद प्रक्रिया अगाडि बढाएका आयोजनालाई कार्यान्वयनमा नलाने गरी सरकारले गरेको निर्णय गैरकानुनी र पूर्वाग्रही भएको भन्दै असन्तुष्टि जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्