site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
व्यापारिक घराना वा निश्चित वर्गलाई फाइदा हुने गरी करको दर हेरफेर हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै व्यापारिक घराना वा निश्चित वर्गलाई फाइदा हुने गरी करको दर हेरफेर नहुने स्पष्ट पारेका छन् । 

सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दायरा हेरफेरलगायतका नीतिगत भ्रष्टाचार नहुने र हुन नदिने स्पष्ट पारे । समग्र अर्थतन्त्रलाई मध्यनजर राखेर आगामी आर्थिक वर्षको बजेट आउने उनले बताए ।

मुलकभित्र उत्पादनलाई बढाउने, उद्योग व्यवसायीलाई प्रोत्साहन गर्नेलगायतका कुरालाई बजेटमार्फत प्राथमिकतामा राखिएको उनले जानकारी दिए । अहिले आर्थिक वर्षको नौ महिनापछि बजेट उपलव्ध गराउन माग गर्ने र ठेक्का लगाउने प्रवृतिलाई आफूले रोकेको जानकारी दिँदै उनले बजेटपछि लगत्तै कार्यान्वयनका लागि कार्यतालिका बनाउने बताए । 

बजेटमार्फत पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन गर्नेमा ध्यान केन्द्रित हुने उनको भनाइ छ । अर्थमन्त्री महतले अहिलो राजस्व कम उठेको क्षेत्रलाई सुधार गर्ने प्रयास भइरहेको भए पनि आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्ने अवस्थामा रहेको जिकिर गरे । 

त्यस्तै, उनले वैदेशिक ऋणले नेपालको अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन भन्ने विषयमा समीक्षा हुन जरुरी रहेकाले समीक्षामार्फत खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता रहेको बताए । 

बैठकमा समिति सदस्यहरुले बजेट कार्यान्वयनको चुनौतीलाई ध्यान दिन सुझाव दिएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्